पोखरामा युवा मुक्तककार सरला लामिछाने 'सरू'को ‘भिरको फूल’ लोकार्पण सम्पन्न - मुक्तक मञ्च

नयाँ सामग्री

Post Top Ad

 


Saturday, April 5, 2025

पोखरामा युवा मुक्तककार सरला लामिछाने 'सरू'को ‘भिरको फूल’ लोकार्पण सम्पन्न

पोखरामा युवा मुक्तककार सरला लामिछाने 'सरू'को ‘भिरको फूल’ लोकार्पण सम्पन्न 
पोखरा 
२०७१/१२/२३ गते
मुक्तककार सरला लामिछाने ‘सरू’को पहिलो कृति ‘भिरको फूल’ मुक्तक सङ्ग्रह शनिबार पोखरामा लोकार्पण गरिएको छ । एक सय ४१ वटा मुक्तक सङ्ग्रहित उक्त कृतिको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त श्रेष्ठ सहित बरिष्ठ लोक गायिका हरिदेवी कोइराला, बिम्बकवी रमेश श्रेष्ठ लगायतले लोकार्पण गरेका हुन् ।
 ‘मुक्तकको उत्थान हाम्रो अभियान’ भन्ने उद्देश्यले स्थापना भएको मुक्तक मञ्च केन्द्रीय समिति नेपालको आयोजनामा भएको सो कार्यक्रममा बोल्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले ठिक समयमा ठिक कृति बाहिर ल्याएको भन्दै रचनाकारलाई शुभकामना दिए । उनले २०३५ पछि पोखरेली युवा सांस्कृतिक परिवारको सक्रियतामा टिकट काटेर मुक्तक सुन्ने परम्परा सुरु भएको बताउँदै तत्कालीन समयमा ‘मुक्तक सुन्न पोखरा जाऔँ’ भन्ने भाष्य स्थापित गर्न सफल भएको बताए । पोखरा र मुक्तक पर्यायवाची शब्द भएको बताउँदै अबका कृतिहरूले पनि पोखरामा मुक्तकको त्यो विरासत फर्काउनेमा आशावादी रहेको भनाइ राखे ।
लोक गायिका कोइरालाले नेपाली साहित्य विधामा मुक्तक लोकप्रिय बन्दै गएको बताइन् । वर्तमान सामाजिक बन्धनलाई तोडेर कृति सिर्जना गर्न चुनौतीपूर्ण रहेको भन्दै सरूकाे प्रयासको तारिफ गरिन्। बिम्बकवि श्रेष्ठले कविता र मुक्तकले कृतिकारको बाँकी जीवनलाई अगुवाई गर्ने उल्लेख गर्दै निरन्तर साहित्य सिर्जनामा लाग्न आग्रह गरे । कार्यक्रममा लक्ष्मी थापा र शिव सङ्कल्पले मुक्तक सङ्ग्रहको समीक्षा गरेका थिए भने स्रष्टा परिचय पूर्व अध्यक्ष कृष्ण देवकोटा गरेका थिए । मुक्तककार अनिता दाहाल, भरतराज पौडेल, प्राञ्जल, के आर ढकालले सङ्ग्रहमा रहेको मुक्तक वाचन गरे।
कार्यक्रममा बोल्दै स्रष्टा सरूले १८ वर्ष अघिदेखिका आफ्नो जीवनका अनुभूतिहरू समेटेर मुक्तक सङ्ग्रह तयार पारेको बताउँदै मुक्तक पढेर सुझाव दिन सबैलाई आग्रह गरिन् । किताब प्रकाशनको काम झन्झटिलो प्रक्रिया भएको अनुभव सुनाउँदै यसका लागि साथ र सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन् । निवर्तमान अध्यक्ष तथा सल्लाहकार रामजी प्रसाद आचार्य र सदस्य श्रद्धा आचार्यले सहजीकरण गरेको कार्यक्रम मुक्तक मञ्चका अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा भएको हो । मञ्चका सदस्य सुष्मा अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् । सहभागी सबैले आगामी कृतिको लागि समेत सरूलाई शुभकामना दिए ।

No comments:

Post a Comment

Post Top Ad